उन्नति नेपाल फाउन्डेसनको मुख्य उद्देश्य के हो?
हरेक वर्ष, संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) ले मानव विकास सूचकांक (HDI) प्रकाशित गर्छ, जसको प्रमुख मूल्यांकन मापदण्डमध्ये शिक्षा एक हो। यस सूचकांकमा नेपाल १९३ देशहरूमध्ये १४६ औं स्थानमा पर्छ, जहाँ हाम्रो स्कोर केवल ०.६०१ छ। यो स्कोरले नेपालको शिक्षा स्तर र प्रणाली कमजोर रहेको पुष्टि गर्दछ। प्रविधि र गुणस्तरीय शिक्षाको अभावले हाम्रो शिक्षा प्रणालीलाई पछाडि पारेको छ।
यस कमजोरीको प्रत्यक्ष प्रभाव हालैको २०८० सालको SEE परीक्षामा देखियो, जहाँ ५२% विद्यार्थी असफल भए। शिक्षा क्षेत्रमा यसलाई सुधार गर्न र परिवर्तन ल्याउन अब हामीले ठोस कदम चाल्न आवश्यक छ। यही उद्देश्यलाई अघि बढाउन उन्नति नेपाल फाउन्डेसन प्रतिबद्ध छ। यस संस्थाले विभिन्न कार्यक्रम र परियोजनाहरू आयोजना गरेर नेपालको शिक्षा स्तरलाई उकास्ने कार्य गर्दै आइरहेको छ। उन्नति नेपाल फाउन्डेसनको मुख्य उद्देश्य विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा सुधार गर्नु, उनीहरूको व्यक्तित्व विकास गर्नु र मनोबलमा वृद्धि गर्नु हो।
यसै उद्देश्यलाई सार्थक बनाउन र नेपालको शिक्षामा रहेका कमीकमजोरी हटाउन उन्नति नेपाल फाउन्डेसनले ल्याएको नवीनतम कार्यक्रम हो— सारथी। सारथी कार्यक्रम अन्तर्गत, उन्नति नेपाल फाउन्डेसन सामुदायिक तथा ग्रामीण क्षेत्रका SEE तयारी गरिरहेका विद्यार्थीहरूको साथी बन्छ, र उनीहरूको शैक्षिक यात्रामा मार्गदर्शन प्रदान गर्छ। यस कार्यक्रमले ज्ञानको पहुँचलाई विस्तार गर्नुका साथै प्रविधिको हस्तान्तरण र विद्यार्थीहरूको मनोबलमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ, जसले नेपालको शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा उकास्न मद्दत पुर्याउनेछ।
यस कार्यक्रमलाई सफल बनाउन, एम्बिशन गुरु ले प्राविधिक सहयोग प्रदान गर्नेछ। एम्बिशन गुरु एक प्रतिष्ठित शैक्षिक संस्था हो, जसले शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल गर्दै विद्यार्थीहरूको मन जितेको छ। यस संस्थामा रहेको पूर्वाधार र प्रविधिमार्फत हामी सजिलै नेपालका दुर्गम गाउँसम्म पुग्नेछौं, र मिलेर परिवर्तनका लागि कदम चाल्नेछौं।
शिक्षा आधारभूत आवश्यकता हो र यसमा सबैको पहुँच हुनु सबैको मौलिक अधिकार हो। विगतमा भौगोलिक, प्राविधिक र अन्य विविध समस्याहरूले हामीलाई पछि पारेको थियो। तर अब, उन्नति नेपाल फाउन्डेसनको सारथी कार्यक्रम मार्फत नेपालको शिक्षा क्षेत्रमा अवश्य पनि सकारात्मक परिवर्तन आउने छ।